माघ ११ , २०७७
काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।
करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।
२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । जनगणना विभिन्न प्रविधि अपनाइ गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए ।स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ । विभागका अनुसार गणकको लागि भने दश जोड दुई तह वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाई छ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले जनाएको छ ।