२०७८ चैत ११ गते ।विश्व व्यापार सङ्गठनका महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुको मूल्य वृद्धि भएको दाबी गर्नुभएको छ । युद्ध सुरु भएपछि निरन्तर बढिरहेको मूल्यका कारण गरिब देशहरूमा खाद्य सङ्कटसमेत हुने सम्भावना रहेको उहाँले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।
गरिब देशहरूमा खाद्यवस्तुको नियमित आपूर्तिलाई लिएर चिन्ता गर्नुपर्ने बेला भएको भन्दै उहाँले खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकोले सबै सजग हुनुपर्ने बताउनुभयो । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उहाँको भनाइ छ ।
गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।