चैत १, २०७८
दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो । व्यापारीहरूले तेस्रो देशबाट आयात गरेर ल्याएको खाने तेल फेरि प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएकोतर्फ उल्लेख गर्दै सभापति श्रीवास्तवले सरकारले त्यसबारे छानबिन गरेर यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाहा गर्न पनि सरकारलाई निर्देशन दिनुभयो ।
सभापति श्रीवास्तवले भन्नुभयो, ‘दैनिक उपभोग्य सामग्रीहरू– चामल, गहुँ, औषधि, शैक्षिक सामग्रीमा मिनाहा दिनु राम्रो होला । तर अनावश्यक वस्तुमा मिनाहा दिँदा नियत सफा देखिएन । त्यस कारण यस छानबिन हुनुपर्छ । करोडौँ रुपैयाँ घोटाला गर्नेलाई धरौटीमा छाडिदिनुहुन्छ अनि मूल्य वृद्धि त्यसै भइरहेको छ ।’
उहाँले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महँगी झनै बढेर जाने बताउनुभयो ।