२०७८ फागुन २१ गते । चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो ।
आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा समेत गर्नुभएको छ । बेइजिङ इकोनोमिक अपरेशन एसोसिएशनका पूर्व उपाध्यक्ष टियान युनले चीनको आर्थिक आकार र विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै वार्षिक ५ दशमलव ५ प्रतिशतको वृद्धिदर उचित रहेको प्रतिक्रिया दिनुभएको छ ।