२०७८ फागुन ११ गते।आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ ।
नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्न लागेको हो । काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ । सहसचिवस्तरीय कार्यदलमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेतृत्व गर्दै हुनुहुन्छ भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सहसचिवले गर्दै हुनुहुन्छ । भोलि भने सचिवस्तरीय बैठक हुनेछ ।
बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।
यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । निर्यातको अवसर नपाउँदा प्राधिकरणले गएको मनसुनमा झण्डै ५ अर्ब बराबरको बिजुली खेर गएको जनाएको छ ।
यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपालि भौतिक रूपमै हुन लागेको हो ।
हरेक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक एक वर्षअघि भर्चुअल रूपमा सम्पन्न भएको थियो । २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो ।