२०७८ माघ २७ गते
भारतको कर्नाटक राज्यका कलेजले कक्षाकोठामा छात्राहरूलाई हिजाब प्रतिबन्ध गरिएसँगै सुरु भएको विरोध प्रदर्शन चर्केको छ । मुस्लिम महिलाले लगाउने हिजाब कलेजमा प्रतिबन्धित भएसँगै भारतमा धार्मिक तनाव बढ्दै गएको छ । जसका कारण कतिपय स्थानमा झडपहरूसमेत भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रदर्शन हिंसात्मक हुन थालेपछि राज्य सरकारले माध्यमिक विद्यालय र कलेजहरू तीन दिनका लागि बन्द गरेको छ । त्यस्तै कर्नाटक प्रहरीले दुई साताका लागि विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाको वरिपरि आन्दोलन तथा प्रदर्शन गर्न रोक लगाएको छ । राज्यका कतिपय कलेजले कक्षामा हिजाब लगाउन नदिएपछि किशोरीहरूले कर्नाटकका विभिन्न स्थानमा केही सातायता विरोध प्रदर्शन गरिरहेका छन् । मानव अधिकारवादी संस्था तथा अगुवाहरूले सरकारी निर्णयको कडा आलोचना गरिरहेका छन् ।
भारतभर चासो र चर्चाको विषय बनेको निर्णयविरुद्ध कर्नाटकको उच्च अदालतमा मुद्दासमेत दायर गरिएको छ । हिजाब लगाउनु संविधानले सुनिश्चित गरेको धर्मको मौलिक हक भएको तर्कसहित विद्यार्थीले अदालतमा मुद्दा दायर गरेका हुन् । इन्डियन एक्सप्रेसका अनुसार अदालतले ‘राज्यका केही कलेजले हिजाब प्रतिबन्ध गरेको विषयमा दायर मुद्दाको सुनुवाइ बृहत् इजलासले हेर्ने’ जनाएको छ । इजलासबारे उच्च अदालतका प्रमुख न्यायाधीशले निर्णय लिनुपर्ने आफूलाई लागेको न्यायाधीश कृष्णा दीक्षितले बताएका छन् ।
उक्त निर्णयविरुद्ध आवाज उठाउनेको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि थपिएकी छन् । छात्राहरूले विद्यालयमा हिजाब लगाउन पाउनु उनीहरूको अधिकार भएको भन्दै युसुफजाई विद्यार्थीहरूको समर्थनमा उत्रेकी हुन् । उनले विद्यालय तथा कलेजहरूको निर्णय एउटा डरलाग्दो घटना भएको बताइन् ।