२०७८ माघ ९ गते
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पुससम्म नेपालको व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । यो गएको वर्षको पहिलो ६ महिनाको भन्दा ४६ दशमलव ६४ प्रतिशतले धेरै हो ।
६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको ६ महिनाको तुलनामा ५१ प्रतिशतले धेरै हो । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो गएको वर्षको ६ महिनाको तुलनामा ९५ दशमलव ४८ प्रतिशतले धेरै हो ।
नेपालको व्यापार घाटा सबैभन्दा धेरै भारतसँग पाँच खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । ६ महिनामा भारतबाट ६ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ९६ अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
यस्तै ६ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा ४५ करोड रुपैयाँको मात्रै निर्यात हुँदा व्यापार घाटा एक खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।