२०७८ पुष २५ गते । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सचिवालयका एकजना सदस्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको छ ।’
यद्यपि उनमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उनले बताए । त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि एकिन भइसकेको छैन । ती सदस्यले भने, ‘अहिले नै पीसीआर टेष्ट गर्ने कि एक-दुई दिन कुरेर परीक्षण गराउने भन्ने अझै एकिन भइसकेको छैन, परामर्श जारी छ ।’
शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी थिए । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।