मंसिर २९ गते ।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।
दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित कम्तिमा १०१ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ । राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।