२०८० जेठ १७ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र बुधबार बिहान हाडनाता करणीका एक आरोपित मृत फेला परेका छन् ।
हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ वर्षीय पुरुष शौचालयभित्र झुण्डिएको अवस्थामा मृत्यु अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीका अनुसार बिहान ५ः२० बजेतिर उनी शौचालय छिरेका थिए । उनले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । हाडनाता करणीको आरोप लागेपछि प्रहरीले अनुसन्धानका लागि जेठ १२ गते उनलाई नियन्त्रणमा लिएको थियो । हाडनाता जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्नका लागि जेठ १४ गते आइतबार विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला उनले आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा गएका नेपाली निक्कै बेरसम्म बाहिर नआएपछि हेर्दा त्यहाँभित्रै अचेत अवस्थामा लडिरहेको भेटिएका थिए । घाँटीको अगाडिको भाग रेटेर घाइते भएको अवस्थामा शौचालयभित्र भेटिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई थप उपचारका लागि कोसीबाट नोबेल अस्पताल लगियो । जिम्मा जमानीमा लिएर आफन्तले उपचार गराइरहेका उनी अस्पतालको शौचालयभित्र पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।