असोज ५ गते । संघीय संसदले दोश्रो पटक पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रमाणीकरण गरिनन् । दोश्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी हुन् ।
यस अघि पहिलोपटक प्रनिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर सो विधेयक राष्ट्रपति भण्डारी कहाँ प्रमाणीरणको लागि पठाउँदा २९ साउनमा उनले सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएकी थिइन् ।
यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पुनः हुबहु पारित गरेपछि २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।
संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । संविधानको धारा ११३ ९४० मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’
तर राष्ट्रपति भण्डारीले भने विधेयक प्रमाणीकरण गरिनन् । राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नगरिएको हो भनेर पनि बोलेको छैन ।
संविधानविद्हरुले दोश्रो पटक संसदले पारित गरेर पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी संविधानको गम्भीर उलंघन गरेको बताएका छन् । नैतिकताको आधारमा उनलाई राजिनामा दिनु पर्ने पनि संविधानविद्हरुले सुझाव दिएका छन् । यति बेला राष्ट्रपति भण्डारीको चौतर्फी आलोचना भइरहेको छ ।