असार २४ गते ।बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी गर्न हिच्किचाइरहेका छन् ।
२३ भदौ २०७६ मा सुन्दर यातायात प्रालिले नेपालमै पहिलोपटक काठमाडौंबाट दुई वटा बसमार्फत सेवा थालेको थियो । अहिलेसम्म सुन्दरले ४ वटा मिनीबससहित थप ११ वटा बस ल्याएर सेवा दिइरहेको छ । मंगलबारदेखि सुन्दरको एउटा बिजुली बसले बेलहिया–भैरहवा–बुटवल–जीतपुर रुटमा सेवा थालेको छ । तर, यो कम्पनीले पनि आक्रामक ढंगले सेवा विस्तार गर्न सकेको छैन ।
काठमाडौंमा दि गो कम्पनीले पनि २ वटा ठूला बिजुली बस चलाएको थियो । तर, बसको सञ्चालन सहज नरहेको निष्कर्ष निकालेर कम्पनीले सेवा नै बन्द गर्यो । ती बस अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुण एयरलाइन्सले सटल बसका रुपमा चलाइरहेको छ ।
दिगो क्लिन इनर्जी कम्पनीका प्रालिका अध्यक्ष राजन रायमाझीका अनुसार अहिले नेपालमा ठूला बिजुली बस १ दर्जनको हाराहारीमा मात्रै छन् । साना आकारका ९माइक्रो० बिजुली बसको संख्या भने १५० भन्दा बढी छ ।