मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मेयर शाह मुख्यमन्त्री पाण्डेलाई भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए ।भेटमा मेयर शाहले फोहोर व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको भन्दै सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।मुख्यमन्त्री पाण्डेले दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको विषयमा जानकारी समेत गराएका थिए।
मेयर शाहले आफू अझै पनि जनताको माग पुरा गर्ने पक्षमा रहेको र त्यसको लागि आफूलाई तीन महिना समय लाग्ने बताएका थिए।
मुख्यमन्त्री पाण्डेले भेटमा काठमाडौं महानगरले गर्ने हरेक सकारात्मक कार्यमा आफू सदैव सहयोग गर्न तयार रहेको बताएका थिए।
यस्तै आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ।
मेयर शाहले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।