सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएका छन्।
काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले यस्तो बताएकी हुन्।
काठमाडौँको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको मन्त्री झाँक्रीकाे भनाइ छ।
उनले भनिन्, ‘फोहोर मैला ठूलो समस्या छ। हामी पहिला टेक्नोलोजी फाइनल गर्छाैँ। पोष्ट क्लोजरको इस्यू ठूलो कुरा हो। अहिले हामी पोष्ट क्लोजरको इस्यूमा काम गर्छौँ। बञ्चरेडाँडा वा सिसडाेल नगएका मानिसहरूका लागि सामान्य कुरा लागे पनि त्यहाँ गएकाहरूका लागि यो ठूलो कुरा हो। हामीले त्यति ठूलो गल्ती गरेका छौँ। फोहोर बञ्चरेडाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ।’
त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रालयले काठमाडौँको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गरे।
भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो। सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरेडाँडावासीले फोहोर फाल्न दिएका छैनन्।
जसकारण लामो समययता काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौँका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ। यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन्।