जेठ ५ गते । स्थानीय तह निर्वाचन अन्तर्गत ५५१ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो ।
काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ ।
यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । एमालेले १५७ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै माओवादी केन्द्र १०२ स्थानीय तह, एकीकृत समाजवादी पार्टी २० स्थानमा विजय हासिल गरेको छ ।
मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ ।