१९ पुस , २०७७
भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो ।
महानिर्देशनालयले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै दुई खोपका सम्बन्धमा कम्पनीहरूले प्रस्तुत गरेको तथ्यांक र आवश्यक विवरणहरूको अध्ययनपछि दुवैलाई आपत्कालीन प्रयोगका लागि अन्तिम स्वीकृति दिने निर्णय गरिएको जनाएको छ । कोभिसिल्डको उत्पादन सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) र कोभ्याक्सिनको उत्पादन हैदराबादस्थित भारत बायोटेकले गरिरहेको छ ।
यसअघि शुक्रबार र शनिबार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आइतबार भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अनुमति दिने निर्णय गरेको हो । महानिर्देशनालयको निर्णयसँगै भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक बाटो खुलेको छ ।
भारत सरकारले आगामी जुलाईसम्म तीस करोडलाई खोप लगाउने घोषणा गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाइएको छ । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । बाँकी २७ करोडका सम्बन्धमा भने अन्तिम निर्णय लिन बाँकी रहेको भारत सरकारका स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले शनिबार बताएका थिए ।