चैत २९ गते ।युक्रेनमा जारी युद्धका कारण त्यहाँका दुई तिहाई बालबालिका बिस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार रुसले आक्रमण थालेको ६ हप्ता भित्र करिब दुई तिहाई युक्रेनी बालबालिका आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका हुन् ।
संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धमा परेर १४२ बालबालिकाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ । तर मारिने बालबालिकाको संख्या यो भन्दा निकै धेरै हुन सक्ने जनाइएको छ ।हालै युक्रेनको भ्रमण गरेका युनिसेफका आकश्मिक कार्यक्रम निदेर्शक म्यानुएल फुन्तेनले डेढ महिनाभित्रै ४८ लाख युक्रेनी बालबालिका बिस्थापित भएको बताए । युक्रेनमा बालबालिकाको कुल संख्या ७५ लाखको हाराहारीमा रहेका छन् ।
‘अझै पनि ३२ लाख युक्रेनी बालबालिका आफ्नो घरमै रहेका छन्, त्यसमध्ये आधा पर्याप्त खाद्यन्न नपाउने अवस्थामा छन्’, फुन्तेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई बताए ।मारिपोल, खेर्सनसहितका शहरको अवस्था थप नाजुक हुन सक्ने चेतावनी उनले दिएका छन् । रुसी घेराबन्दी र आक्रमणको निशानामा रहेका ति शहरमा अत्यावश्यक पानी, खाद्यान्न तथा औषधिसहितका सामग्रीको अभाव छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूत सर्गेइ त्रिस्लिट्स्याले रुसले एक लाख २१ हजार भन्दा बढी युक्रेनी बालबालिकालाई लगेको आरोप लगाए ।रुसले ती बालबालिकालाई लक्षित गरेर ‘एडप्सन’ प्रक्रिया खुकुलो बनाउनका लागि अध्यादेश तयार पारेको उनले बताए।