चैत २५ गते ।युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन युक्रेन जानुभएको छ । भोनले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनमा पुगेको तस्बिर सार्वजनिक गर्दै उहाँले आफू युक्रेनको राजधानी किएभमा रहेको जानकारी गराउनुभएको हो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनको राजधानी किएभ पुग्ने उहाँ सबैभन्दा उच्च पश्चिमी नेतृ रहेको रोयटर्सले जनाएको छ । ईयू कमिसन अध्यक्ष उर्सुलाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उर्सुलाका साथमा स्लोभाकियाका प्रधानमन्त्री एडवार्ड हेगर र ईयूको विदेश नीति प्रमुख जोसेप बोरल पनि हुनुहुन्छ । यसअघि पोल्यान्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्री पनि रेलमार्फत किएभ गएका थिए ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बोरोदियाङ्का सहरमा भएको क्षति बुचा सहरको भन्दा डरलाग्दो रहेको बताउनुभएको छ । भिडियो सन्देशमा जेलेन्स्कीले रुसी सेनाको आक्रमणबाट ध्वस्त भएको बोरोदियाङ्काको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेको बताउनुभयो । उहाँले रुसी सेनाले जानीजानी सामान्य नागरिक बसेको ठाउँमा आक्रमण गरेको बताउनुभयो ।