चैत २५ गते ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाहरू तराई केन्द्रित भएको उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले त्यो भेगमा सिँचाइ सुविधा पुर्याउने गरी आउँदा दिनमा नीति बनाउनुपर्ने बताउनुभएको हो
मन्त्री भुसालले भन्नुभयो, ‘हाम्रा सबै राष्ट्रिय गौरवलगायतका आयोजनाहरू तराई केन्द्रित छन् । अब हामीले सिँचाइको आयोजना बनाउँदा पहाड र हिमालमा पनि पुर्याऔँ । त्यसले रोजगार पनि त्यहीँ सृष्टि गर्छ । खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ र अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ ।’
मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक सङ्कट भने नरहेको बताउनुभयो । उहाँले श्रीलङ्काको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरूको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुसालले भन्नुभयो, ‘अहिले देशमा आर्थिक तरलताको स्थिति कतै सङ्कट हो कि, कतै श्रीलङ्का हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजो पनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । मान्छेले चर्चा गरेजस्तो छैन ।’
उहाँले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।