२०७८ चैत २२ गते।अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ ।
तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य कारुणिक रहेको भन्दै जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
एउटा भिडियो सन्देशमा जेलन्स्कीले रुसी क्रुरताको निन्दा गर्दै यो आफ्नै देशमा बाँच्न पाउने हक हननको चरम रुप भएको बताउनुभयो । बुचा घटनालाई लिएर आज आफूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्न लागेको पनि जेलन्स्कीले बताउनुभयो ।