२०७८ चैत १७ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।
आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्न भनेको, केही देशले पहिले नै व्यापारका लागि भुक्तान गर्ने मुद्रामा डलरको अनिवार्यता हटाउन छलफल गरिरहेको र युद्धकै कारण विभिन्न प्रकारका डिजिटल मुद्राको विकास लगायतका कारण अमेरिकी डलर कमजोर बन्न सक्ने सम्भावना रहेको प्रथम उपकार्यकारी निर्देशक गीता गोपिनाथले बताएको खबरमा उल्लेख छ ।
विश्वव्यापी व्यापारमा अन्य मुद्राको अधिक प्रयोगले केन्द्रीय बैंकहरूको मुद्रा सञ्चितिमा थप विविधिता ल्याउने गोपिनाथको भनाइ रहेको छ ।