पुष २,२०७७
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारणले ३५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।
मन्त्रालयको पछिल्लो विवरण अनुसार ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको उलेख छ । हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण भएको जनाएको छ ।