आश्विन,२०
चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न इपिएलको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन पहिलो पटक फाइनलमा पुगेको हो। जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। चितवनका ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्का सहित ४८ रनम बनाए । शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड आउट भएका थिए।हासिम अन्सारीले १४ रनमा अविजित रहे भने करिम जन्नत ४ रनमा अविजित रहेत्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो। पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए। पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पोखराका यो स्कोर ईपीएल इतिहासकै सर्वाधिक कम योगफल हो। चितवनका सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए। करिम जन्नत र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो।चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। यसअघि २०१७ मा लिगको पुछारमा रहँदे बाहिरिएको चितवन २०१८ मा एलिमिनेटरमा भैरहवासँग पराजित भएको थियो। चितवनले फाइनलमा उपाधिको लागि दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ। एलिमिनेटर खेलमा आजै काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदै छ। एलिमिनेटरको विजेताले बिहीबार फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्नेछन् ।