पुस २२ गते । सर्लाहीको बरहथवाम जयशंकर साहलाई गोली चलाएर मारेको आरोप लागेका प्रहरी बरिस्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत्त प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो ।
हवल्दार यादवले नै गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानविन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । उनी विद्युत् कार्यालयमा महसुस बुझाउन जाँदै थिए ।
प्रहरीले पनि जयशंकर निर्दोष रहेको स्वीकार गरसकेको छ ।
आन्दोलनकारीले हतियार थुन्ने बेला बरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दावी छ ।
मृतक परिवार र आन्दोलनरत्त पक्षले भने बरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दावी गरेको छ ।