२०८० जेठ १५ । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको सोमबार ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको हो ।साथै सोमबार देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ । संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताउनुभयो। अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताउनुभयो । सरकारले आरोहणका लागि हालसम्म ४ सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल नेपालमा आठ वटा छन् ।