असोज २६, २०७९।दुबै गठबन्धनमा दलहरुबीच भागवण्डा नमिल्दा दलहरुको अलग अलग उम्मेदवारीले धनुषा क्षेत्र नं। २ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । सत्तारुढ गठबन्धन घटक नेपाली काँग्रेसबाट रामकृष्ण यादव उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै विपक्षी एमाले–जसपा गठबन्धन घटक जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान सांसद उमाशंकर अरगरियालाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनमा काँग्रेसले रामकृष्ण र एकीकृत समाजवादीले रामचन्द्रका लागि सो क्षेत्र नछाड्ने दावी गरेको थियो । अन्ततः सो सो क्षेत्र काँग्रेसको भागमा र दुई प्रदेशसभा मध्ये (क) लोसपा र (ख) माओवादीको भागमा पर्यो । सोही अनुसार उम्मेदवारी पनि पर्यो । तर, एकीकृत समाजवादीका रामचन्द्रले पार्टीबाट छुट्टै उम्मेदवारी दिए । रामकृष्ण अहिले पनि एकीकृत समाजवादी बाहेक सत्ता गठबन्धनकै उम्मेदवार हुन् । उनलाई यो क्षेत्रमा माओवादी केन्द्र र लोसपाको साथ छ । रामचन्द्र अन्य दलजस्तै गठबन्धनसंग प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य योगकुमार बरबरिया बताउँछन् । उनले काँग्रेस, माओवादी केन्द्र र लोसपाको गठबन्धन यस क्षेत्रमा कायमै रहेको बताए ।
रामचन्द्र र रामकृष्ण दुबैजना संविधानसभा सदस्य एवं पूर्व मन्त्री समेत हुन् । रामचन्द्र सो क्षेत्रका पुराना बाम नेता मानिन्छ ।पाँच दलीय गठबन्धनमा जसपा हुँदा पनि सो क्षेत्रको दावी छाडेको थिएन । जसपा सत्ता गठबन्धन छाडेर एमालेसंग चुनावी तालमेल गर्दा पनि सो क्षेत्रको विषयमा कुरा मिलेन । अन्ततः विपक्षी गठबन्धन जसपा र एमाले आ आफ्नै उम्मेदवार उठाएर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरे । विपक्षी गठबन्धनमा एमाले र जसपाबीच यो क्षेत्रमा तालमेल नमिल्नुको कारण अलि रोचक छ । यस क्षेत्रका प्रत्यक्ष निर्वाचित लोसपाका निवर्तमान सांसद उमाशंकरलाई एमाले अध्यक्ष केपी शर्मा ओली टिकट दिने प्रतिवद्धतासहित गत असोज ८ गते पार्टीमा भित्र्याएका थिए । उमाशंकरको प्रवेशले आफूले टिकट नपाउने सम्भावना देखेपछि एमालेका पुराना प्रभावशाली नेता गंगाराम यादव पार्टी छाडे । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले जसरी पनि टिकट दिने प्रतिवद्धतासहित पार्टीमा स्वागत गरे । यस कारण विपक्षी गठबन्धनमा पनि यो क्षेत्रमा तालमेल भएन । दुबैका उम्मेदवार आमने सामने बन्न पुगे । जसपाले यो क्षेत्र पहिलादेखि नछाड्नुको मूल कारण थियो धनुषाको चार वटा क्षेत्र मध्ये २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सहित दुबै प्रदेश सभा क्षेत्र जित्नु ।