असोज ७ गते ।मधेशमा चुनाव भन्ने बितिकै धनुषा प्रतिनिधि सभा क्षेत्र नं. ३ अन्य क्षेत्र भन्दा बढी चर्चाको शिखरमा रहन्छ । यसको कारण एतिहासिक धार्मिक नगरी जनकपुरधाम र हेवीवेट नेताबीचको प्रतिस्पर्धा । जनकपुरधाम मधेश प्रदेशको स्थायी राजधानी भइसकेपछि झनै यो क्षेत्रको महत्व झनै बढेको छ ।
यसपटक धनुषा क्षेत्र नं. ३ मा बिगतमा चुनावी प्रतिस्पर्धामा रहदै आएका काँग्रेस नेता बिमलेन्द्र निधि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट ब्याक भएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट राजेन्द्र महतो काँग्रेस नेता निधिलाई पराजित गर्दै निर्वाचित भएका थिए । राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट लडेका महतो निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित हात पारेका थिए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए ।
यसपटक पनि प्रत्यक्ष तर्फको चुनावमा जित्न असहज होलाकी ठानेर उनी समानुपातिक तर्फ आफ्नो नाम सिफारिस गराएर सांसद बन्न आफूलाई सुरक्षित गरेका छन् । काँग्रेस पूर्व उपसभापति समेत रहेका निधि २०७४ को चुनावमा सभापति शेर बहादुर देउवाको खेमामा थिए । यधपी मधेश आन्दोलनको रापतापको प्रभाव र आन्तरिक रुपमा चलेको निधि हराउ अभियानको कारण बहु संख्यक एमाले राजेन्द्र महतोलाई मत हालेका थिए । तर पार्टीको महाधिवेशनमा सभापति पदका लागि शेर बहादुर देउवासंग टक्कर लिएपछि पराजित भए । त्यस यता उनी कमजोर भएका छन् । गत स्थानीय तहको निर्वाचन गठबन्धन तर्फ मेयरका उम्मेदवार जसपाका लालकिशोर साहलाई सहयोग नगरी अन्तरघात गरेको आरोप छ । काँग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका मनोज साहलाई आन्तरिक भूमिका खेलेका थिए । आगामी निर्वाचनमा संस्थापन पक्ष र गठबन्धनमा अन्तर्घात हुन सक्ने त्रासले निधि प्रत्यक्ष चुनावबाट ब्याक भएर समानुपातिकमा गएको उनी निकट एक नेताले बताए ।
नेता निधिको ठाउँमा काँग्रेसबाट पहिलो पटक नयाँ अनुहार आउने अवसरको सृजना भएको छ । निधि व्याक भएपछि यो क्षेत्रको लागि काँग्रेसले प्रमेश्वर महासेठ र गणेश तिवारीको नाम सिफारिस गरेको छ । प्रवल सम्भावित उम्मेदवार भने प्रमेश्वर महासेठ हुने चर्चा छ । २०३६ सालदेखि नेपाल विद्यार्थी संगठनदेखि काँग्रेसको राजनीतिमा आफू सक्रिय रहेको महासेठ बताउँछन् । उनी चार्टर अकाउन्टेन्ट ९सीए० हुन् । आर्थिकरुपले सबल भएकाले उनलाई यो अवसर पार्टीले प्रदान गर्न लागेको व्यापक चर्चा छ । महासेठ प्रवल सम्भावित उम्मेदवार भएको काँग्रेस क्षेत्र नं। ३ का सभापति कोमलकान्त झा बताउँछन् ।
हुन त पाँच दलीय गठबन्धनमा अहिले निर्वाचन क्षेत्र टुंगिन बाँकी छ । यधपी पार्टीको आधार क्षेत्र रहेकाले यो क्षेत्र छाड्न काँग्रेसले सकभर नछाड्ने नेता झाको भनाइ छ । लोसपा गठबन्धनमा आएको खण्डमा राजेन्द्र महतोलाई यो क्षेत्र छाड्न सकिने पनि काँग्रेस नेता झा बताउँछन् । करिब दुई महिना अघि काँग्रेस नेता निधिले लोसपा नेता महतोसंग भेट गरेका थिए । त्यसपछि उनले पार्टीको बैठकमै गठबन्धनमा लोसपालाई ल्याउने प्रस्ताव समेत राखेका थिए । महतोको सचिवालयका अनुसार भेटघाटको क्रममा निधिले महतोलाई आफू समानुपातिकमा जाने संकेत गर्दै अगामी निर्वाचनमा सहकार्य गरि अघि बढ्ने कुराकानी गरेका थिए । महतो र निधिको भेट र गठबन्धनमा लोसपालाई ल्याउने प्रस्तावलाई महत्वका साथ हेरिएको थियो ।