भदौ ६ गते ।सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।
शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाण्डौमा अनशन बस्नुभएको थियो ।
सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उहाँले अनशन रोक्नुभएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उहाँले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
उपचारकै क्रममा उहाँ अनशनमा बस्नुभएको थियो । यसअघि निहारिकाले शिवराजविरुद्ध कारबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिएको थियो । आरोपितलाई सफाइ दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्चमा फिर्ता बोलाइएको छ ।