साउन २९ गते ।संघीय सरकारले समयमा प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साह आजबाट धर्नामा बस्न लागेका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि समय सीमा दिँदै ज्ञापन पत्र पठाउँदा समेत ध्यान नदिएको भन्दै मन्त्री साह प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न लागेका हुन् ।
मन्त्री साहले आफूले पटक पटक प्रहरी समायोजनका लागि भने पनि संघ सरकारले बेवास्ता गरेका कारण बाध्य भएर धर्ना बस्न लागेको बताएका छन् । उनले ५ वर्षमा प्रहरी समायोजन गर्न नसकेका कारण प्रदेशको सुरक्षा निकायबारे अन्यौलता रहेकाले धर्ना दिन लागेको बताए ।
मन्त्री साहले आज बिहान ११ देखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताइएको छ । धर्नामा मन्त्रीसहित सांसद र नागरिक समाजका अगुवाको पनि सहभागिता रहने छ । एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिने मन्त्री साहले बताए ।