असार १३ गते ।मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए ।
‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन,’ मौसमविद हिरा भट्टराईले भने, ‘भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ ।’ उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।
आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको बताए । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको बताए । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविद भट्टराईको भनाइ छ ।
वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।