जेठ १६ गते । धनुषामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।
पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–६ बस्ने २८ बर्षीय गणेश महतो, वडा नं ५ बस्ने ४० बर्षीय जय कुमार यादव र भारतको विहार घर भई क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० बर्षीय धर्मेन्द्र पटेल रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
घटनामा संलग्न भनिएका अझै एकजना फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जवरजस्ती करणी गरेका थिए ।
पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेका थिए ।
आरोपितहरुमध्ये चारजना आईतवार पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य एकजना संलग्न रहेको पीडित पक्षको दावी छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।