२८ पुस , २०७७
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन भन्दा बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
प्रतिनिधिसभा बिघटन असंवैधानिक र चुनाव घोषणा संवैधानिक भएको बताउँदै नेता निधिले भने, ‘चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने जान्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली, सर्वसत्तावादी, अधिनायकवादी र बर्चश्वादी रहेकाले मुलुक र संविधान बचाउन सबैलाई निर्वाचनमा जान तयार रहनुपर्ने उनको भनाई थियो । ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ ।
त्यसका लागि दुईवटा संवैधानिक बाटो छ । सर्वोच्चद्धारा संसद पुनस्र्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन्, उनले भने, ‘यी दुबै विकल्प संवैधानिक छन् । अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ ।’
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन्,’ निधिले थपे ।नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए ।
उपसभापति निधिले नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए ।