जेठ ११ गते ।संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र गरी सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बुधवारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्यायउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो । छापिएको पुस्तक पनि तत्काल विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।
समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । सभापति घर्तीले भन्नुभयो, ‘छापिएका पुस्तकलाई तत्काल पुर्याउनु पर्यो । छाप्न बाँकी रहेका पुस्तक एक महिनाभित्र छापेर विद्यार्थीको हातमा पुर्याउन समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’
समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम पालिकालाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले प्रदेश सरकारलाई छपाइ र सम्बन्धित पालिकालाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताउनुभयो ।
उहाँले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालय नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।