राजनीतिक दलहरूले चुनावको मुखमा निर्वाचन आचारसंहिता विपरीत बजार क्षेत्रलाई कोलाहल मच्चाएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित दलहरूको प्रचारप्रसार तीब्र छ । गाडी र ई–रिक्सामा चर्को आवाजमा पार्टीगत गीत घन्काउँदै उम्मेदवारको प्रचारप्रसार गर्दा गाउँशहरमा ठूलो आवाजले जनताको टाउको दुखाइ भएको छ ।
प्रमुख राजनीतिक दलहरू बिहानैदेखि राति अबेरसम्म ठूलो आवाजमा पार्टीगत चुनावी गीत बजाइरहेका छन् ।
प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा का गीतहरूले अहिले लुम्बिनी प्रदेश मुकाम बुटवल लगायत जिल्लाभर ‘माइकिङ’ गरिरहेका छन् ।
रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले दलहरूका गीत घन्काएर हिँड्ने प्रचारप्रसार शैली आचारसंहित विपरीत रहेको बताए । ‘दलहरूले यस्तो गर्न पाइँदैन,’ अधिकारी भण्डारीले लोकान्तरसँग भने, ‘सानो हाते माइक उम्मेदवारको गाडीमा मात्रै राख्न पाइन्छ । गाडीमा २ वटा झण्डा, एउटा चुनाव चिह्न मात्र राखेर हिँड्ने हो । अरु गर्न पाइँदैन । यस्तो गर्ने दलको नाममा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि गर्नुपर्छ ।’
बुटवलका व्यवसायी रमेश रम्तेललाई छिनछिन पसल अगाडिबाट चर्को साउन्डमा बज्दै ओहोरदोहोर गर्ने गीतले हैरान बनाएको छ । उनी सबै राजनीतिक दलले यस्ता कार्य रोक्नुपर्ने सुझाव दिन्छन् । ‘मतदाताले कसलाई मत दिने भनेर मानसिकता बनाइसकेका छन्,’ उनी भन्छन्, ‘ध्वनी प्रदुषण गराउँदै भोट केमा फलानोमा भन्दै डिजे साउन्ड बजाउनु बजारवासीको टाउको दुखाइ भएको छ ।’
अहिले दलहरूको चुनावी प्रचार शैली भड्किलो छ । हरेक घरमा चोकचोकमा पार्टीका चुनाव चिह्न र झण्डा फहराइएका छन् । यस्तो कार्य गर्न पनि निर्वाचन आचारसंहिताले दिँदैन । दलहरूले अहिले निर्वाचनको अन्तिम रापतापमा छन् ।
बुटवलकी अर्की स्थानीय हिरादेवी शर्माले विगत १ हप्तादेखि शान्त शहरलाई बिहानैदेखिको चर्को स्वरको साउन्डले अशान्त जस्तै बनाउन थालेको बताइन् । ‘उम्मेदवारसँग पार्टीले गर्ने घरदैलोमा गाडीको लावा–लस्कर देखिन्छ, प्रायःजसो सबै गाडीहरूमा ठूला साउन्ड सिस्टम जोडिएका छन्,’ उनले भनिन् ।
निर्वाचन अधिकृतको कार्यालय बुटवलका अधिकृत लेखनाथ पौडेलले बजारमा ध्वनि आतंक भएको भन्दै नियन्त्रणको लागि भनेर आफूलाई फोनबाट पटक–पटक फोन आउने गरेको बताए ।
‘यो कार्य आचारसंहिता विपरीतको कार्य हो,’ पौडेलले लोकान्तरसँग भने, ‘मैले दलहरूलाई पनि फोनबाटै सचेत गराएको छु । केही कुराहरू सम्बोधन पनि भएका छन्, केही भएका छैनन् । कार्यालयमा उजुरी चाहिँ अहिलेसम्म परेको छैन । परेछ भने स्पष्टीकरण सोधिन्छ ।’
निर्वाचन आचारसंहिताप्रति दलहरूको ध्यान नपुगेको पौडेलको बुझाइ छ । दलका नेताहरूले मतदाता शिक्षाप्रति ध्यान दिनुको साटो गीत घन्काउनमा ध्यान दिएको पौडेलले बताए ।
नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले निर्वाचन आचारसंहिताप्रति आफूहरू सचेत रहेको दाबी गरे । ‘गीत बजाउने विषय ठूलो होइन,’ उनी भन्छन्, ‘सत्तारुढ गठबन्धनले कति बजाएको छ हेर्नुस् १ त्यसलाई काउन्टर दिन केही ठाउँमा हाम्रो पनि बजेका होलान् तर निर्वाचन आचारसंहिता पालनाप्रति हाम्रो पार्टी पूर्ण रूपमा सचेत छ ।’
नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले ख्याल गर्दागर्दै पनि पार्टी र गठबन्धनका संयुक्त गीतहरू बजेको स्वीकार गरे । ‘दलहरूमा आएका नवप्रवेशीहरूले डिजे साउन्डको रवाफ देखाएका छन्,’ उनले भने, ‘नयाँ युवाहरूलाई रोक्न सकिएन । फेरि गीत घन्काउँदैमा मतदाताले भोट दिने पनि होइनन् । बौद्धिक मान्छेलाई त यो कार्य घृणा लाग्छ नि ?
आचारसंहिता विपरीतका कार्य रोक्न आफूले पहल गर्ने अर्यालले बताए । दलहरू चुनावको अन्तिम कसरतमा छन् । एमाले एक्लै र कांग्रेससहित सत्ता गठबन्धन एकठाउँमा छन् ।