१६ पसु , २०७७
परीक्षार्थी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकलाई जिल्ला अदालत सप्तरीले सात वर्षको कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश ईश्वरमणी ओझाको इजलासले पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारका २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई सात वर्ष कैद सजायको फैसला गरेको हो । २०७६ जेठ ४ गतेमा बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।
जिल्ला अदालतको आदेशमा ०७६ असार १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका अभियुक्तलाई अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनीमाथि १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।
कक्षा ११ को परीक्षा दिन आफन्तको घरमा बसेकी बालिकालाई उनका केटा साथीले बोलाएर रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको जनचेतना उच्च मावि, तेरहौता गएका बेला घटना भएको बताइएको छ ।
आरोपितहरुले बालिकाको केटा साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरेका थिए । पीडित बालिका होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घटनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।
समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा आफूले पनि बलात्कार गरेको आरोपितले स्वीकारेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारको घटनामा पीडित बनेकी बालिकाले मण्डललाई मात्र पहिचान गर्न सकेकी थिइन् ।
प्रहरीले आरोपितमध्ये मण्डललाई ०७६ जेठ ५ गते पक्राउ गरेपछि उनै मण्डलले दिएको बयानका आधारमा रुपनी गाउँपलिका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २५ वर्षीय देबनारायण मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदारविरुद्ध सामुहिक बलात्कारको उजुरी दर्ता भएको छ ।
प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले ०७६ जेठ ३० गते अदालतमा अभियोजनपत्र दायर गरिसकेको छ । मुद्दाको फैसला हुञ्जेल पक्राउ नपरेका अन्य आरोपितहरुको हकमा मुद्दा मुल्तबीमा रहनेछ ।